सडक स्तरोन्नतिसँगै खजुरामा औद्योगिक लगानी बढ्दै
बाँके,कात्तिक १५ । वर्षौंदेखि सडक पूर्वाधारको अभाव झेल्दै आएको बाँकेको खजुरा क्षेत्रमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेपछि औद्योगिक तथा व्यावसायिक लगानी बढ्न थालेको छ ।
नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गको सहज पहुँचसँगै खजुरामा पाँचतारे होटल, बिस्कुट उद्योग र चिनी उद्योगजस्ता ठूला परियोजना निर्माण भइरहेका छन् । जानकी गाउँपालिका–३ मानपुरमा पौवा ग्रुपले पाँचतारे होटल निर्माण गरिरहेको छ भने खजुरा गाउँपालिका–५ गोदहनानजिक बहुराष्ट्रिय लगानीमा पार्ले–जी बिस्कुट उद्योग स्थापना हुँदैछ ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नयाँ वर्ष २०८४ देखि होटल सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभएको छ । यस्तै, निर्माणाधीन विद्युत् सबस्टेसन सञ्चालनमा आएपछि उद्योगलाई आवश्यक विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक, ऊर्जा, सस्तो जग्गा र श्रमशक्तिको उपलब्धताले खजुरालाई लगानीमैत्री क्षेत्र बनाएको बताउँदै निजी क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभएको छ ।
यसैबीच, नौ वर्षदेखि अलपत्र नेपालगञ्ज–गुलरिया सडकको खजुरा बजार खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । एक हजार आठ सय मिटर लामो उक्त सडक १६ मिटर चौडाइमा कालोपत्रे र फुटपाथसहित निर्माण भइरहेको छ । पेडारी नालामा नयाँ पुल निर्माण सम्पन्न भएको छ भने किरण नालाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
यस्तै, नेपालगञ्जको धम्बोझी चोकदेखि खजुराको नन्दनी मिलसम्मको नौ सय मिटर सडक विस्तारका लागि ३९ करोड ८४ लाख रुपैयाँभन्दा बढीमा ठेक्का प्रक्रिया अघि बढाइएको छ । योजना सम्पन्न भए एक वर्षभित्र धम्बोझीदेखि गुलरियासम्म चार लेन सडकबाट यात्रा गर्न सकिने अपेक्षा गरिएको छ ।
सडक पूर्वाधारमा सुधार र ठूला उद्योग तथा होटलमा लगानी थपिँदै जाँदा खजुरा क्षेत्रलाई उद्योग, व्यापार र पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्ने सम्भावना बढेको छ ।

