अब घरमै पुग्ने भयो सवारी चालक अनुमतिपत्र, कर्णालीमा हुलाक सेवाको नयाँ सुरुआत



सुर्खेत,साउन १६ । हुलाक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशका नागरिकलाई घरदैलोमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पुर्‍याउने सेवा आजदेखि सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय सुर्खेत तथा यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाबाट वितरण हुने सवारी चालक अनुमतिपत्र अब हुलाकमार्फत सेवाग्राहीको घरमै ढुवानी गरिने भएको हो ।

सेवाको औपचारिक सुरुआतका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सरकारी सेवा नागरिकको घरमै उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्ने क्रममा हुलाक सेवाले लाइसेन्स घरदैलोमा पुर्‍याउने सेवा सुरु गरेको निर्देशक पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब कर्णालीका दुर्गम तथा यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले लाइसेन्स लिन सुर्खेत, जुम्ला वा रुकुम पश्चिमसम्म धाउनुपर्ने बाध्यता हट्नेछ । यातायात कार्यालयको लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी आवश्यक मापदण्ड पूरा गरेका सेवाग्राहीले लाइसेन्स लिन कार्यालयमै उपस्थित हुनुपर्ने छैन । रु ४० हुलाक महसुल तिरेपछि लाइसेन्स सेवाग्राहीको घरमै पुग्नेछ ।

हुलाक निर्देशनालयले यसअघि पनि नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्डलगायत सामग्री घरदैलोमा पुर्‍याउँदै आएको छ । त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छालालगायत नमुना हवाई सेवामार्फत काठमाडौँ पठाउने तथा स्वास्थ्य बिमा बोर्ड, खुला विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायत संस्थाका सामग्री आदानप्रदान गर्ने सेवा पनि हुलाकमार्फत सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्