मधेस प्रदेशमा ९१ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
जनकपुरधाम,साउन १६– मधेस प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यो कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो ।
मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । सिरहामा धान खेती हुने ५४ हजार हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । सिरहामा शतप्रतिशत रोपाइँ सकिएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।
सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धान खेती हुने ६८ हजार हेक्टरमध्ये ६१ हजार २०० हेक्टरमा रोपाइँ सकिएको छ ।
धनुषामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म ३७ हजार ३१५ हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत र पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
मधेस प्रदेशमा यस वर्ष कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको अधिकृत विश्वकर्माले बताउनुभयो ।

