आफ्नै खेतमा फल्ने कोदोका लागि विदेशकै भर, आज दोस्रो राष्ट्रिय कोदो दिवस
काठमाडौँ,साउन १६ — कृषि प्रधान देश नेपालमा आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै छ। कोदोको संरक्षण, प्रवर्द्धन र उत्पादन वृद्धि गर्ने उद्देश्यले दिवस मनाइरहँदा आफ्नै खेतबारीमा सहजै उत्पादन गर्न सकिने यही रैथाने अन्नका लागि नेपाल विदेशमा निर्भर रहनुपर्ने अवस्था भने विडम्बनापूर्ण देखिएको छ।
पर्याप्त उत्पादन सम्भावना हुँदाहुँदै पनि स्वदेशी उत्पादन घट्दै गएपछि नेपालले बर्सेनि करोडौँ रुपैयाँ खर्च गरेर कोदो आयात गरिरहेको छ। यसले कोदोको उत्पादन र सम्भावनाभन्दा पनि किसान, बजार र सरकारी व्यवस्थापनमा रहेका कमजोरीलाई उजागर गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालले झन्डै ६१ करोड रुपैयाँबराबरको कोदो आयात गरेको छ। सो वर्ष बीउलगायत विभिन्न प्रयोजनका लागि करिब एक करोड २१ लाख ५० हजार किलो कोदो नेपाल भित्रिएको थियो। त्यसको तुलनामा निर्यात भने करिब दुई हजार एक सय किलोमा सीमित रह्यो। आर्थिक वर्ष २०८१/८२ मा करिब ७७ करोड र २०८०/८१ मा करिब ७५ करोड रुपैयाँबराबरको कोदो आयात भएको थियो। आयातमा भारतको हिस्सा ठूलो छ।
नेपालका ७७ वटै जिल्लामा कोदो खेती गर्न सकिन्छ। कृषि मन्त्रालयका अनुसार समुद्री सतहबाट ६० मिटरदेखि तीन हजार ६ सय ५० मिटरसम्मको उचाइमा कोदो उत्पादन हुन्छ। खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली कोदो उत्पादनका प्रमुख जिल्लामा पर्छन्। कर्णालीमा समेत यसको उत्पादन विस्तारको सम्भावना उच्च रहेको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ।
कोदो पहाडी क्षेत्रमा पुस्तौँदेखि खेती हुँदै आएको महत्त्वपूर्ण रैथाने अन्नबाली हो। धान, गहुँ र मकैपछि उत्पादनका हिसाबले महत्त्वपूर्ण अन्नबालीमध्ये पर्ने कोदो कम पानीमा पनि फल्ने भएकाले सुक्खा तथा खडेरी प्रभावित क्षेत्रका लागि उपयोगी मानिन्छ। मध्यपहाडी क्षेत्रमा मकैसँगै घुसुवा बालीका रूपमा तथा पश्चिम नेपालका सुक्खा क्षेत्रमा एकल बालीका रूपमा यसको खेती हुँदै आएको छ।
तर पछिल्ला वर्षमा कोदो खेतीको क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा छन्। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दुई लाख १५ हजार हेक्टरमा कोदो खेती हुँदा दुई लाख ८५ हजार टन उत्पादन हुने अनुमान छ। आर्थिक वर्ष २०७३/७४ मा दुई लाख ६३ हजार हेक्टरमा खेती हुँदा तीन लाख ६ हजार टन उत्पादन भएको थियो। त्यस्तै, २०७९/८० मा दुई लाख ७५ हजार हेक्टरबाट तीन लाख ५५ हजार टन कोदो उत्पादन भएको थियो।
किसानले कोदो खेतीबाट दूरी बनाउनुमा खेती श्रमसाध्य हुनु, आधुनिक उपकरण र गुणस्तरीय बीउको अभाव, उत्पादनको उचित मूल्य नपाउनु तथा बजार सुनिश्चित नहुनु प्रमुख कारण मानिएका छन्। किसानको श्रम घटाउन सिधै बीउ छरेर खेती गर्ने प्रविधि र साना कृषि उपकरण प्रयोगमा ल्याउने प्रयास भइरहेको कृषि क्षेत्रका विज्ञहरू बताउँछन्।
उत्पादन बढाउन खेती विस्तारसँगै कोदोको प्रशोधन र बजारीकरणलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ। पछिल्लो समय कोदोका परम्परागत परिकारमा मात्र सीमित नरही बिस्कुट, कुकिज, केक, डोनट, सेलरोटी, परौठा, पकौडा, प्यानकेक, पुरी, मोमो र चाउमिनजस्ता खाद्य सामग्रीसमेत बनाउन थालिएको छ।
जलवायु परिवर्तनसमेत कोदो खेतीका लागि नयाँ चुनौती बनेको छ। अनियमित मनसुन, छोटो समयमा हुने अत्यधिक वर्षा र त्यसपछि लामो समयसम्म पर्ने खडेरीले पहाडी क्षेत्रमा यसको उत्पादन प्रभावित भइरहेको छ। यद्यपि कम पानीमा उत्पादन हुने र प्रतिकूल मौसम सहन सक्ने भएकाले कोदोलाई जलवायु अनुकूल बालीका रूपमा पनि महत्त्व दिइएको छ।
पोषणका दृष्टिले समेत कोदो महत्त्वपूर्ण मानिन्छ। यसमा क्याल्सियम, आइरन र फाइबर पाइन्छ। लामो समयसम्म ‘गरिबको खाना’का रूपमा हेरिएको कोदोप्रतिको धारणा पछिल्लो समय परिवर्तन हुँदै गएको छ। खाद्य सुरक्षा, पोषण र जलवायु परिवर्तनसँग जुध्न सक्ने बालीका रूपमा विश्वस्तरमै यसको महत्त्व बढ्दै गएको छ।
सरकारले कोदोसहित रैथाने बाली प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा ८८ पालिकाका लागि छ करोड ३६ लाख रुपैयाँ ससर्त अनुदान उपलब्ध गराइएको कृषि क्षेत्रका अधिकारीहरूले बताएका छन्। तर किसानलाई गुणस्तरीय बीउ, आधुनिक प्रविधि, यान्त्रिकीकरण, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता नदिएसम्म कोदो खेती विस्तार गर्न कठिन हुने विज्ञहरूको भनाइ छ।
दोस्रो राष्ट्रिय कोदो दिवस मनाउँदै गर्दा नेपालसामु एउटा गम्भीर प्रश्न उभिएको छ—आफ्नै खेतबारीमा फल्ने, कम पानीमा समेत उत्पादन गर्न सकिने र पोषणका दृष्टिले महत्त्वपूर्ण कोदोका लागि नेपाल कहिलेसम्म विदेशमै निर्भर रहने?
कोदो दिवसलाई नारामा मात्र सीमित नराखी किसानको खेतदेखि उपभोक्ताको भान्सासम्म यसको मूल्य शृंखला बलियो बनाउन सके मात्रै आयातित कोदोमाथिको निर्भरता घटाउन र नेपालको आफ्नै रैथाने बालीको उत्पादन तथा उपभोग बढाउन सकिनेछ।

