आफ्नै विश्व कीर्तिमान दोहोर्याउने किलु पेम्बाको सपना अधुरै
दोलखा,साउन १६ — पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका दोलखाको गौरीशङ्कर गाउँपालिका–९ बेदिङका ४५ वर्षीय किलि पेम्बा शेर्पा ‘किलु’को आफ्नै विश्व कीर्तिमान तोड्ने सपना अधुरै भएको छ।
किलु दोस्रोपटक आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्यसहित ब्रड पिक आरोहणमा गएका थिए। उनले गत असोजमै आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
यसअघि सन् २०२१ जनवरी १६ मा १० सदस्यीय आरोहण टोलीमा सहभागी हुँदै किलुले विश्वको दोस्रो अग्लो हिमाल के–२ को पहिलो सफल शीतकालीन आरोहण गरेर पनि विश्व कीर्तिमान कायम गरेका थिए। पाकिस्तानबाट ड्रोनमार्फत किलुको शव देखिएको खबर प्राप्त भएपछि परिवारले उनको आत्माको चिरशान्तिको कामना गर्दै पूजापाठ गरिरहेको काका दावा छिरी शेर्पाले बताए। सरकारले भने किलु पेम्बाको मृत्युबारे औपचारिक पुष्टि गरिसकेको छैन।
किलुलाई हिमाल आरोहणको क्षेत्रमा अघि बढाउनेमध्ये उनका काका दावा छिरी शेर्पा पनि हुन्। दावा छिरीले सगरमाथाको १५ पटक आरोहण गरिसकेका छन् भने आठ हजार मिटरभन्दा अग्ला अन्य हिमालसमेत आरोहण गरेका छन्। किलु १८ वर्षको उमेरमा पहिलोपटक आरोहीको भरिया बनेर हिमालतर्फ लागेका थिए।
त्यसपछि आरोहीका गाइड हुँदै उनले विश्व कीर्तिमानी आरोहीको परिचय बनाएका थिए। २१ वर्षको उमेरमा उनले चीन–नेपाल सीमामा रहेको ८ हजार २०१ मिटर अग्लो छोयु हिमालको पहिलो आरोहण गरेका थिए। त्यसयता उनले सगरमाथा मात्रै १५ पटक आरोहण गरिसकेका थिए।
किलुका बुबा र आमाको यसअघि नै निधन भइसकेको छ। उनका श्रीमती, एक छोरा, एक छोरी र दाजु दावा तेन्जी शेर्पा छन्। दावा तेन्जीले पनि सन् २०२१ जनवरी १६ मा भाइ किलुसहितको १० सदस्यीय टोलीमा सहभागी भएर के–२ को पहिलो सफल शीतकालीन आरोहण गरेका थिए। उनी हाल नर्वेमा रहेको काका दावा छिरीले बताए।
किलुको शव नेपाल ल्याउन परिवार तथा माउन्टेन एभरेस्ट समिटर्स क्लब रोल्वालिङको तर्फबाट पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा निवेदन दिइएको छ।परिवारले शव नेपाल ल्याउन आवश्यक पहल गरिदिन सरकारसँग आग्रह गरेको छ।

