जातीय र धार्मिक सद्भावका लागि काँग्रेसका भ्रातृ संस्थाको र्‍याली



काठमाडौँ,साउन १६— मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र सामाजिक शान्ति कायम गर्न नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्‍याली आयोजना गरेका छन्।

तराईका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको धार्मिक तथा जातीय तनावका बीच सामाजिक सद्भाव र आपसी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्‍याली निकालिएको हो।

साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुईजनाको मृत्यु भएको थियो। त्यसैगरी सिरहामा उत्पन्न धार्मिक द्वन्द्व नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु भएपछि तराईका केही जिल्लाको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

घटनापछि तराईका केही स्थानमा अझै निषेधाज्ञा जारी रहेको र सामाजिक वातावरण असहज बनेको अवस्थामा काँग्रेसका भ्रातृ संस्थाहरूले काठमाडौँमा र्‍याली निकाल्दै शान्ति र सद्भाव कायम गर्न अपिल गरेका हुन्।

र्‍यालीमा सहभागीहरूले धर्म, जाति र समुदायका आधारमा विभाजन नभई सबैबीच आपसी मेलमिलाप, सहिष्णुता र भ्रातृत्व कायम गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले सामाजिक सद्भाव नै मुलुकको शान्ति र स्थायित्वको आधार भएको भन्दै सबै समुदायलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्