ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली



काठमाडौं,साउन १६ । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रोड पिक आरोहणका क्रममा नेपालीसहित १० जना आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो।

उहाँले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताउनुभएको छ।

हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा व्यक्त गर्नुभएको छ।

ब्रोड पिक आरोहणका क्रममा छ नेपाली र चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको बताउँदै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्