नुवाकोट दुप्चेश्वरका सामुदायिक विद्यालयमा शनिबार र आइतबार बिदा
नुवाकोट,साउन १६ — दुप्चेश्वर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
गाउँ कार्यपालिकाको साउन १५ गते बसेको बैठकको निर्णयअनुसार यसअघि गरिएको व्यवस्थालाई कार्यान्वयन गर्न गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको हो।
गाउँपालिकाले संघीय सरकारबाट विद्यालय सञ्चालनसम्बन्धी फरक निर्णय भएमा सोहीअनुसार कार्यान्वयन गरिने जनाएको छ।हालका लागि भने गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा शनिबार र आइतबार दुई दिन बिदा कायम रहने स्पष्ट गरिएको छ।
यस्तै, विद्यालयको पाठ्यभार व्यवस्थापन तथा अन्य शैक्षिक गतिविधि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिपत्रअनुसार सञ्चालन गर्न पनि गाउँपालिकाले निर्देशन दिएको छ।

