चितवनमा एक वर्षमा ३३३ उद्योग दर्ता, १ हजार ६४२ जनाले पाए रोजगारी



चितवन,साउन १७— चितवनमा गत आर्थिक वर्षमा ३३३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ३७९ वटा नयाँ व्यवसाय तथा फर्म दर्ता भएका छन्।

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य क्षेत्रमा गरी ९३ करोड १५ लाख ८९ हजार ९७९ रुपैयाँ पुँजी लगानी भएको छ। नयाँ लगानी गर्ने उद्योगीमध्ये उद्योगतर्फ १६७ जना महिला, १७० जना पुरुष र एउटा फर्म रहेको उहाँले जानकारी दिनुभयो।

दर्ता भएका उद्योगबाट ६९० महिला र ९५२ पुरुष गरी एक हजार ६४२ जनाले रोजगारी पाएका छन्। हाल चितवनमा १६ हजार ५१८ वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन्। त्यस्तै, वाणिज्यसँग सम्बन्धित १७ हजार ७३४ वटा व्यवसाय सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा जिल्लामा ३०३ वटा उद्योग तथा ४४५ वटा वाणिज्यसँग सम्बन्धित व्यवसाय बन्द भएका छन्। व्यवसाय सञ्चालन हुन नसक्नु, लगानीकर्ता वृद्धावस्थामा पुग्नु तथा वैदेशिक रोजगारीमा जानुपर्ने लगायतका कारण उद्योग तथा व्यवसाय बन्द भएको सूचना अधिकारी कुमालले बताउनुभयो।

घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रममा १४५ जना महिला र तीन जना दलितले दर्ता शुल्कमा छुट पाएका छन्। त्यस्तै, वाणिज्यतर्फ २०० जना महिला, १५ जना दलित र एक जना अपाङ्गता भएका व्यक्तिले दर्ता शुल्क छुट पाएका छन्। उनीहरूलाई कुल ३३ लाख १६ हजार रुपैयाँ बराबरको शुल्क छुट दिइएको कार्यालयले जनाएको छ। महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिलाई फर्म दर्तामा शुल्क नलाग्ने व्यवस्था रहेको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा उद्योगतर्फ दुई हजार ९६८ र वाणिज्यतर्फ तीन हजार ६७५ वटा व्यवसाय तथा फर्म नवीकरण भएका छन्। समयमा नवीकरण नगर्ने उद्योग तथा वाणिज्यसम्बन्धी व्यवसायलाई नियमानुसार जरिवाना गरिने कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालनमा रहेका उद्योग तथा व्यवसाय भेटिएमा आवश्यक कारबाही गरिने सूचना अधिकारी कुमालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्