सेनाले ३२ सडक आयोजना सम्पन्न गर्दै निर्माण गर्यो एक हजार ४११ किलोमिटर सडक
काठमाडौँ,साउन १७— नेपाली सेनाले जटिल भौगोलिक अवस्था भएका ३२ वटा सडक आयोजना सम्पन्न गर्दै हालसम्म एक हजार ४११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरेको छ। सेनाको व्यवस्थापनमा कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायत महत्वपूर्ण सडक आयोजना सम्पन्न भएका छन्।दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने क्रममा सरकारले कडा चट्टानयुक्त भिर, निर्माणका लागि चुनौतीपूर्ण भूभाग र रणनीतिक महत्वका सडकखण्ड निर्माणको जिम्मेवारी सेनालाई दिँदै आएको छ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सीमित स्रोतसाधन, प्रतिकूल मौसम र जटिल भूबनावटका बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्दै आएको छ। सेनाले वार्षिक रूपमा निर्धारण गरिएका निर्माण लक्ष्यसमेत शतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याइरहेको उहाँले बताउनुभयो।
पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का सडक आयोजनाअन्तर्गत च्याम्ताङ–घोङ्घप्पा खण्डको १० दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरिएको छ। यस सडकले किमाथाङ्का क्षेत्रमा स्थानीय विकाससँगै भविष्यमा व्यापारिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हाल नेपाली सेनाले मुख्य रूपमा कर्णाली करिडोर, दार्चुला–टिङ्कर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन सडक आयोजनामा निर्माण कार्य गरिरहेको छ।
महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक आयोजनाको तुषारपानी–टिङ्कर खण्डमा ७९ किलोमिटर सडक निर्माण भइरहेको छ। अत्यन्त कठिन हिमाली भूभाग, कडा चट्टानयुक्त भिर र प्रतिकूल मौसमका बीच आर्थिक वर्ष २०८२/८३ मा १९ दशमलव ८० किलोमिटर सडक निर्माण गरी वार्षिक लक्ष्य शतप्रतिशत पूरा गरिएको सेनाले जनाएको छ। आयोजनाको हालसम्मको भौतिक प्रगति २५ दशमलव ०६ प्रतिशत पुगेको छ।
बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा–दोभानको १८ किलोमिटर सडक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको ४० दशमलव ८ किलोमिटर अर्थात् ४४ दशमलव ३५ प्रतिशत भौतिक प्रगति भएको छ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख सडक आयोजना हो। हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२ दशमलव ०५ किलोमिटर सडक निर्माणको जिम्मेवारी सेनाले लिएको छ।
लालीबगर–दुल्लिकुन्ना खण्डको सडक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ भने घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा निर्माण जारी छ। आर्थिक वर्ष २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण गरी वार्षिक लक्ष्य शतप्रतिशत पूरा गरिएको र आयोजनाको समग्र भौतिक प्रगति ८६ दशमलव १७ प्रतिशत पुगेको सेनाले जनाएको छ।
कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत असार २२ गते बेलिब्रिजसमेत जडान गरिएको थियो। यसबाट हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न सहज भएको र कर्णाली क्षेत्रको आर्थिक तथा सामरिक महत्व थप सुदृढ हुने अपेक्षा सेनाले गरेको छ। सेनाले संविधानप्रदत्त जिम्मेवारीअन्तर्गत राष्ट्रिय गौरव, प्राथमिकता र दुर्गम क्षेत्रका सडक आयोजनामा नयाँ ट्र्याक निर्माण, ट्र्याक स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका काम गर्दै आएको छ।
दुर्गम तथा रणनीतिक महत्वका सडक निर्माण गरी राष्ट्रिय सडक सञ्जाल विस्तार गर्नु, सामाजिक तथा आर्थिक विकासलाई गति दिनु र राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ गर्नु यस्ता आयोजनाको मुख्य उद्देश्य रहेको सेनाले जनाएको छ।
सेनाका अनुसार सामरिक महत्वका सडकले हिमाली, पहाडी र तराई क्षेत्रलाई जोड्दै व्यापार, पर्यटन, विपद् व्यवस्थापन तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि आधार तयार गर्नेछन्। राष्ट्रिय सडक सञ्जालको विस्तारले दुर्गम क्षेत्रका नागरिकको पहुँच बढाउनुका साथै नेपालको आर्थिक विकास र राष्ट्रिय सुरक्षालाई समेत दीर्घकालीन रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ।

