कर्णालीमा राष्ट्रिय कोदो दिवस, ‘गरिबको खाना’ होइन पोषणको आधारका रूपमा बुझ्न आग्रह



सुर्खेत,साउन १७ — ‘कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ कर्णालीमा पनि विविध कार्यक्रमसहित मनाइएको छ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विभिन्न साझेदार सङ्घसंस्थाको सहकार्यमा शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कोदोप्रतिको परम्परागत दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव सञ्जीवकुमार कर्णले मौलिक पहिचान र औषधीय गुण बोकेको कोदोलाई गरिबको खानाका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताउनुभयो। कोदो खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण बाली भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उहाँको भनाइ थियो।

कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा विकास गर्ने सरकारको अभियानमा कोदो तथा अन्य रैथाने बालीको उत्पादन वृद्धि महत्वपूर्ण हुने सचिव कर्णले बताउनुभयो। स्थानीय बालीको संरक्षणसँगै उत्पादन र उपभोग बढाउन सके कर्णालीको कृषि क्षेत्रलाई थप बलियो बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो।

मन्त्रालयकी बाली विकास अधिकृत विमला कुमारी खनालले कोदोको उत्पत्ति, उत्पादन तथा उपभोगका विषयमा जानकारी दिँदै दिवसका अवसरमा यसको प्रवर्द्धन, चुनौती र भावी कार्यदिशासम्बन्धी प्राविधिक सत्र तथा कार्यपत्र प्रस्तुत गरिएको बताउनुभयो। कार्यक्रमले कर्णालीमा कोदोको मौलिक पहिचान संरक्षणसँगै व्यावसायिक विकास र उपभोग बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

दिवसका अवसरमा आयोजित प्रदर्शनीमा कोदोबाट तयार गरिएका २० भन्दा बढी प्रकारका परिकार राखिएका थिए। प्रदर्शनीमा कोदोको सेलरोटी, ढिँडो, मःम, केक, बिस्कुटलगायत परम्परागतदेखि आधुनिक परिकारसम्म प्रदर्शन गरिएको थियो।

कर्णाली प्रदेशमा प्राङ्गारिक कृषि उद्यम सञ्चालन गर्दै आउनुभएका उद्यमी कमल नेपालीले कोदोबाट दुई दर्जनभन्दा बढी स्वादिष्ट परिकार बनाउन सकिने बताउनुभयो। कोदोको व्यावसायिक विविधीकरण गरी बजारमा पुर्‍याउन सके युवाका लागि स्वरोजगारको अवसर सिर्जना हुनुका साथै कर्णालीको अर्थतन्त्रमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो।

कोदोको उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यावसायिक बनाउन सके रैथाने बालीको संरक्षणसँगै स्थानीय उत्पादनको मूल्य अभिवृद्धि हुने र किसान तथा उद्यमीले आर्थिक लाभ लिन सक्ने कार्यक्रममा सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्