देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं,साउन १७ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने तथा पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराईका धेरै स्थानमा समेत मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश र लुम्बिनीका तराईका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्नसक्ने भन्दै सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न महाशाखाले आग्रह गरेको छ।

