तादीमा भूमि समस्या समाधानको प्रगति समीक्षा, समाधानमा सहकार्य बढाउने प्रतिबद्धता
नुवाकोट,साउन १७ — तादी गाउँपालिकामा भूमि समस्या समाधानसम्बन्धी प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा भूमि समस्या समाधानका लागि हालसम्म भएका काम, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिएको हो।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष शम्भुप्रसाद रेग्मीको प्रमुख आतिथ्यता र तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, जिल्ला समन्वय अधिकारी विष्णुप्रसाद पौडेल, जिल्ला भूमि समस्या समाधान समितिका सदस्य तथा विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकार पौडेल, सदस्यहरू धर्मराज रोकाय र प्रदीपनाथ शर्मा, सदस्य–सचिव उत्तम खड्का तथा तादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनलगायतको सहभागिता थियो।
त्यस्तै गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा सचिव, विषयगत शाखाका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पालिका प्रतिनिधि र स्थानीय नागरिक समाजका अग्रजहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा जिल्ला भूमि समस्या समाधान समितिले हालसम्म गरेका कामको प्रगति, प्राप्त उपलब्धि, देखिएका समस्या तथा चुनौती र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।सहभागीहरूले भूमि समस्या समाधान प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन आवश्यक सुझावसमेत दिएका थिए।
कार्यक्रमले स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित निकायबीचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउँदै भूमि समस्याको दिगो समाधानका लागि सकारात्मक वातावरण निर्माण गरेको आयोजकले जनाएको छ।

