ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्यका लागि सम्झौताको सङ्केत



वासिङ्टन,साउन १७ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकसँगको छलफलपछि इरानसँग जारी युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखा तयार भएको दाबी गर्दै तत्काल नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत दिनुभएको छ।

शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला राख्ने तथा इरानको आणविक खतरा अन्त्य गर्ने विषय समेटिने बताउनुभएको हो।उहाँले छिट्टै सम्झौता हुने अवस्था बनेमा विश्वको भविष्य र समृद्ध इरानका लागि थप सैन्य आक्रमण रोक्न आफू सहमत हुने उल्लेख गर्नुभएको छ।

ट्रम्पका अनुसार इजरायलले पनि इरानसँग युद्ध अन्त्य गर्न अमेरिकाले गरिरहेको प्रयासलाई समर्थन गरेको छ। यद्यपि, उहाँको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। पाँच महिनादेखि जारी द्वन्द्वका बीच ट्रम्पको पछिल्लो धारणा अप्रत्याशित मोडका रूपमा आएको छ। एक दिनअघि मात्र उहाँले इरानलाई वार्तामा आउन बाध्य पार्न व्यापक सैन्य आक्रमणको तयारी भइरहेको सङ्केत दिनुभएको थियो।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए। त्यसबेला ट्रम्पले इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने, आणविक हतियार विकास रोक्ने तथा इरान समर्थित सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य गर्ने उद्देश्य रहेको बताउनुभएको थियो। तर, समयक्रममा युद्धका उद्देश्य र रणनीतिमा परिवर्तन हुँदै आएको छ।

जुनको मध्यतिर भएको अन्तरिम युद्धविरामपछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो। तर, होर्मुज जलडमरूमध्यमा जहाजमाथि पुनः आक्रमण भएपछि केही सातामै युद्धविराम भङ्ग भएको थियो।

ट्रम्पको पछिल्लो घोषणा साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तापछि आएको हो। छलफलसँग परिचित स्रोतका अनुसार युवराजले अमेरिका–इरान द्वन्द्व थप चर्किन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्नुभएको थियो।

साउदी पक्षले अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, पुल वा विद्युत् केन्द्रमा ठूलो आक्रमण गरे त्यसको जवाफमा इरानले साउदी अरब तथा अन्य खाडी मुलुकका ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने जोखिम औँल्याएको बताइएको छ।

यसै साता साउदी अरबले इराकमा रहेका इरान समर्थित समूहका रसद तथा हतियार भण्डारणस्थलमाथि भएको अमेरिकी कारबाहीमा साथ दिएको थियो। साथै, साउदी अरबले अमेरिका र इरानलाई पुनः वार्तामा फर्कन आग्रह गर्दै आएको छ।

इरानसम्बन्धी अमेरिकी रणनीतिबारे छलफल गर्न साउदी युवराजले आफ्ना भाइ तथा रक्षामन्त्री खालिद बिन सलमानलाई वासिङ्टन पठाउनुभएको थियो। उहाँले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

यसैबीच, ट्रम्पले मंगलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुभएको थियो। फेब्रुअरीमा युद्ध सुरु भएयता दुई नेताबीच भएको यो पहिलो प्रत्यक्ष भेट थियो।नेतान्याहुले इरानविरुद्धको सैन्य अभियान निरन्तरता दिन आग्रह गर्नुभएको बताइएको छ।

नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा इरान युद्ध ट्रम्प प्रशासनका लागि राजनीतिक चुनौतीसमेत बन्दै गएको छ। विश्व अर्थतन्त्रमा प्रभाव पारिरहेको द्वन्द्व अमेरिकी जनमतमा समेत लोकप्रिय नरहेको बताइएको छ।

यसै साताको सुरुमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण अमेरिकी सेनाले विफल पारेपछि ट्रम्पले कडा जवाफी कारबाही गर्ने चेतावनी दिनुभएको थियो। शुक्रबार उहाँले आवश्यक परे इरानमाथि ‘अत्यन्त कडा’ प्रहार गर्ने बताउनुभएको थियो।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले युद्धविरामसम्बन्धी समझदारी उल्लङ्घन गर्दै व्यावसायिक जहाज तथा अमेरिकी सैनिकलाई लक्षित गरेको आरोप लगाउनुभएको छ।

ट्रम्पको पछिल्लो घोषणाअघि अमेरिकी अधिकारीहरू उच्च सतर्कतामा थिए। उहाँले अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहेको र आवश्यक परे तत्काल कारबाही गर्न सक्षम रहेको बताउनुभएको थियो। बढ्दो तनावलाई ध्यानमा राख्दै अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका १० देशमा रहेका अमेरिकी नागरिकका लागि उच्च सुरक्षा सतर्कता पनि जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्