एक हजार किलोभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ
मोरङ,साउन १७ । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट प्रहरीले एक हजार तीन किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले शनिबार उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीले मिनिट्रकमा लुकाइराखिएको ३१ वटा पोकाबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजा बरामद गरेको जनाएको छ। गाँजासहित पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

