बिल सुरक्षित राख्नुहोस्, दैनिक एक लाख जित्ने मौका



काठमाडौं,साउन १७। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगदमा खरिद गरेका वस्तु तथा सेवाको सक्कल बिल दर्ता गराएर कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो।

विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माका अनुसार साउन १ गतेदेखि रु. १०० भन्दा बढी मूल्यको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान वा भ्याट बिल लिएका उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्।

यसका लागि विभागले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। योग्य उपभोक्ताले प्रणालीमा आफ्नो बिलको विवरण तथा प्रतिलिपि प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

बैंक वा डिजिटल वालेटमार्फत क्यूआर कोड प्रयोग गरी गरिएको रु. १०० भन्दा बढीको भुक्तानी भने स्वतः प्रणालीमा समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले छुट्टै बिल प्रविष्ट गर्नुपर्ने छैन। तर, पछि उपहार प्राप्त गर्ने क्रममा सक्कल बिल आवश्यक पर्ने भएकाले सबै बिल सुरक्षित राख्न विभागले आग्रह गरेको छ।

विभागले खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्न र व्यवसायीले बिल उपलब्ध नगराए विभागलाई जानकारी गराउनसमेत उपभोक्तालाई अनुरोध गरेको छ।

साउन १ गतेदेखि सुरु भएको कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरिएको विभागले जनाएको छ। कुनै ठूलो प्राविधिक समस्या नआए पहिलो १५ दिनका लागि दैनिक एक जना गरी १५ जना विजेता छनोट गरिनेछ। उनीहरूले कर कट्टीपछिको रु. १ लाख नगद उपहार पाउनेछन्।

त्यसैगरी, प्रत्येक १५ दिनमा एक जना उपभोक्तालाई रु. १० लाख नगद बम्पर उपहार प्रदान गरिने व्यवस्था गरिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउन तथा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्