झोलुङ्गे पुलबाट खसेर ३२ वर्षीया महिलाको मृत्यु
अछाम,साउन १७ । अछाममा झोलुङ्गे पुलबाट खस्दा ३२ वर्षीया महिलाको मृत्यु भएको छ। चौरपाटी गाउँपालिका–५ गहिल (गड्सिल) निवासी खिना खड्काको आइतबार बिहान झोलुङ्गे पुलबाट खस्दा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रुद्रराज कँडेलका अनुसार बिहान करिब ६ बजे साँफेबगर नगरपालिका–१ बैजनाथ र वडा नम्बर ७ रिडिकोट जोड्ने झोलुङ्गे पुलबाट खसेपछि खड्काको घटनास्थलमै मृत्यु भएको हो।
प्रारम्भिक जानकारीअनुसार खड्का केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। उहाँका दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

