कांग्रेसका दुवै पक्षलाई जोड्न राष्ट्रिय भेला हुँदै
काठमाडौं,साउन १७ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद बढिरहेका बेला पार्टीका दुवै पक्षलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
अभियानले यही साउन २० गते राजधानीमा कांग्रेस एकताको पक्षधर नेता तथा कार्यकर्ताको राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। अभियानले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत भेलाबारे जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य तथा कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिएका डा. शशाङ्क कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताउनुभयो।
पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता पनि कमजोर हुने गरेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन दबाब दिने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले पार्टी एकताको आवश्यकता महसुस गरी आजैदेखि ‘कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको जानकारी दिनुभयो।
महरका अनुसार भेलामा सहभागी हुन हालसम्म एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेसलाई एकताबद्ध बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो।

