पेट्रोलमा तीन र डिजेलमा पाँच रुपैयाँ बढ्यो, ग्यासको मूल्य यथावत
काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँले मूल्य वृद्धि गरेको हो।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ।
निगमले हवाई इन्धनको मूल्यसमेत बढाएको छ। आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरी २४९ रुपैयाँ पुर्याइएको छ।
अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले बढाएर १ हजार ५९७ अमेरिकी डलर कायम गरिएको छ। पोखराका लागि १ हजार २३७ अमेरिकी डलर र भैरहवाका लागि १ हजार २२२ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।


