हरेक वर्ष २२ हजारभन्दा बढीमा क्यान्सर, फोक्सोको क्यान्सर प्रमुख जोखिम



काठमाडौँ, साउन १८ । नेपालमा हरेक वर्ष करिब २२ हजारदेखि २४ हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । तीमध्ये दुई हजार चार सयभन्दा बढीमा फोक्सोको क्यान्सर देखिने गरेको तथ्याङ्क छ ।

विशेषज्ञका अनुसार फोक्सोको क्यान्सरका करिब ८५ प्रतिशत कारण धूमपानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित छन् ।नेपालमा पुरुषमा देखिने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो र महिलामा तेस्रो स्थानमा रहेको छ । करिब ५० देखि ५५ वर्ष उमेर समूह यसबाट बढी प्रभावित हुने गरेको पाइएको छ ।

धूमपानसँगै वायु प्रदूषण, उद्योग तथा सवारीसाधनको धुवाँ, इँटा उद्योगको प्रदूषण र घरभित्र दाउरा तथा ठोस इन्धनको प्रयोगले पनि जोखिम बढाउने चिकित्सकहरू बताउँछन् ।

विशेषज्ञका अनुसार तीन साताभन्दा बढी लगातार खोकी लाग्नु, खोकीमा रगत आउनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, स्वर बस्नु, बारम्बार फोक्सोमा सङ्क्रमण हुनु, भोक तथा तौल घट्नुजस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिनुपर्छ ।

चिकित्सकहरूले फोक्सोको क्यान्सरबाट बच्न धूमपान त्याग्न, परोक्ष धूमपानबाट जोगिन, वायु प्रदूषण कम गर्न, नियमित व्यायाम गर्न र स्वस्थ खानपान अपनाउन सुझाव दिएका छन् । जोखिम समूहका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्