मधेशको जनजीवन सामान्य, आन्दोलनका कार्यक्रम फिर्ता
जनकपुरधाम, साउन १८ । केही दिनदेखि अशान्त रहेको मधेश प्रदेशको जनजीवन सामान्य लयमा फर्किएको छ । गृहमन्त्री सुधन गुरुङसँगको छलफलपछि संयुक्त हिन्दु मोर्चाअन्तर्गतको हिन्दु सम्राट सेना नेपालले आफ्ना विरोध तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएपछि अवस्था सामान्य बनेको हो ।
आइतबार भएको वार्तामा मोर्चाले १९ बुँदे मागपत्र बुझाएको थियो । माग कार्यान्वयनका लागि सरकारले आवश्यक पहल गर्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता भएको जनाइएको छ ।
मोर्चाले वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, सीमा सुरक्षा कडा पार्ने, नागरिकता छानबिन, धार्मिक संस्थाको गतिविधि तथा विदेशी सहयोगको अनुसन्धानलगायत माग अघि सारेको छ ।
यसैबीच गृहमन्त्री गुरुङले महोत्तरीको मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गरी सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण र आवतजावतको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले सुरक्षा निकायलाई सीमा सुरक्षामा थप सतर्कता र समन्वय गर्न निर्देशन दिनुभएको छ ।

