द्रुतमार्गमा खोकना विवाद छल्न ‘भायडक्ट’ विकल्प
काठमाडौँ, साउन १८ । काठमाडौँ–तराई/मधेश द्रुतमार्गको खोकना क्षेत्रमा देखिएको जग्गा अधिग्रहण, मुआब्जा र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विवाद छल्न बागमती नदीमाथि ‘भायडक्ट’ निर्माण गरी चोभारलाई प्रस्थानविन्दु बनाउने विकल्प अघि सारिएको छ ।
सम्बन्धित विज्ञका अनुसार करिब छ किलोमिटर लामो भायडक्ट निर्माण गर्दा खोकना क्षेत्रमा भइरहेको विवादबाट आयोजना अलग राखेर निर्माण अघि बढाउन सकिनेछ । यसबाट बस्ती तथा ऐतिहासिक सम्पदा जोगिनुका साथै सडकको दूरी र यात्रा समयसमेत घटाउन सकिने बताइएको छ ।
वरिष्ठ इन्जिनियर राजेन्द्र शर्मा काफ्लेका अनुसार भायडक्ट अग्ला र लामा पुलजस्तै संरचना हो, जसमा धेरै खम्बा वा स्पान हुन्छन् । नदीमाथि यस्तो संरचना बनाउँदा बाढी तथा पहिरोको जोखिम कम हुने र सडकलाई सिधा तथा सहज बनाउन सकिने उहाँको भनाइ छ ।
तर भायडक्ट निर्माण गर्दा बागमतीको प्राकृतिक बहाव, भू–बनोट र जलचरमा पर्ने प्रभावको अध्ययन गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

