मनसुन सक्रिय, बागमती–कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना



काठमाडौं,साउन १८ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेको छ। जसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ।

पहाडी भेगका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेससहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। केही हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्