श्रावणको तेस्रो सोमबार शिवालयमा भक्तजनको घुइँचो



काठमाडौँ,साउन १८ — चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

श्रद्धालुको सहज दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बोल बम यात्रामा सहभागी भक्तजनका लागि समेत विशेष व्यवस्था गरिएको छ।

मन्दिर प्रवेशका लागि चारवटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवसहित विभिन्न शिव मन्दिरमा पनि दर्शनार्थीको लाम लागेको छ।

श्रावण महिनाका सोमबार भगवान् शिवको पूजा, आराधना र दर्शन गर्ने धार्मिक परम्पराअनुसार भक्तजन शिवालय पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्