राष्ट्रियसभा बैठक आज, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौं,साउन १८ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभासमक्ष पेस गर्नुहुनेछ।
यसैबीच, आज चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न लागेको हो।
बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुनेछ। सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका विषयमा छलफल हुने कार्यसूची छ।
त्यस्तै, दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। दिउँसो २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।

