आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ, साउन १८ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने पनि विभागको पूर्वानुमान छ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम
विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ। ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व तथा नवलपरासी पश्चिमलगायत जिल्लामा भने मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।

विभागले उच्च जोखिम भएका क्षेत्रका नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न पनि विभागले अनुरोध गरेको छ।

मध्यम जोखिम रहेका क्षेत्रमा नदी तथा खोलाको सतह बढ्नसक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन र मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना लिएर मात्र गतिविधि गर्न विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्