आँबुखैरेनी सडकखण्डमा बस र बलेरो ठोक्किँदा ६ जना घाइते



गोरखा,साउन १८ । गोरखा नगरपालिका–१३ स्थित पाँचकिलोमा यात्रुवाहक बस र बलेरो जीप एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।

आज दिउँसो सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ०७५८ नम्बरको बलेरो जीप ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

दुर्घटनामा बलेरो चालक गोरखाको सहिद लखन गाउँपालिका–१ बक्राङका ३४ वर्षीय विवश विक, सोही स्थानका २७ वर्षीय शंकर विश्वकर्मा र १५ महिनाकी प्रभा विश्वकर्मा घाइते भएका छन्। त्यस्तै बस चालक गोरखाको पालुङटार नगरपालिका–६ का ३० वर्षीय मिलन गुरुङ, गोरखा नगरपालिका–१३ देउरालीका ४२ वर्षीय कृष्णराम नराल र पालुङटार नगरपालिका–९ का ६५ वर्षीय होमबहादुर बानियाँ पनि घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल, तनहुँ लगिएको छ।बलेरो चालक विवश विकको छातीमा भित्री चोट लागेको छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्