गोरखामा पहिरोले पाँचतले पक्की घर बगायो, एक जना घाइते
गोरखा,साउन १८ । गोरखामा अविरल वर्षाका कारण गएको पहिरोले पाँचतले पक्की घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोमा परी एक जना घाइते भएका छन्।
गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा आज बिहान गएको पहिरोले स्थानीय मानसिंह गुरुङको पाँचतले पक्की घर जगैदेखि बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
पहिरोले घरलाई जगबाटै बगाएर करिब २० मिटर तल पुर्याई पूर्ण रूपमा क्षति गरेको प्रहरीले जनाएको छ। पहिरो जाँदा घरभित्र रहेका रौतहटको कटहरिया नगरपालिका–७ का ५८ वर्षीय टोखान महतो घाइते हुनुभएको छ। उहाँलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको छ।
प्रहरीका अनुसार घाइते महतोको अवस्था मध्यम रहेको छ। उहाँको पेट र खुट्टामा सामान्य चोट लागेको छ। पहिरोका कारण सोही घरसँग जोडिएको कृष्ण देव महतोको चारतले पक्की घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

