माइतीघर डुबानको दीर्घकालीन समाधान खोजिँदै
काठमाडौँ, १८ साउन । सामान्य वर्षामै जलमग्न हुने माइतीघर मण्डला क्षेत्रको डुबान समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाइएको छ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वर्षाको पानी र ढलका लागि छुट्टाछुट्टै निकास प्रणाली निर्माण गरिने बताउनुभएको छ। हाल एउटै प्रणालीबाट पानी बग्दा सामान्यभन्दा बढी वर्षामा ढलको क्षमता नपुग्ने गरेको उहाँको भनाइ छ।
प्राविधिक अध्ययनले पुरानो र साँघुरो ढल, अव्यवस्थित सहरीकरण, प्राकृतिक जल बहाव क्षेत्रमा अतिक्रमण तथा वर्षाको पानी र ढल एउटै पाइपबाट निकास हुनु डुबानका मुख्य कारण रहेको देखाएको छ।
डुबान नियन्त्रणका लागि पुराना ढलको क्षमता बढाउने, नयाँ वर्षा पानी निकास निर्माण गर्ने, पानी सङ्कलन तथा विस्तारै निकास गर्ने प्रणाली विकास गर्ने र प्राकृतिक पानी सञ्चय क्षेत्र संरक्षण गर्ने योजना अघि सारिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजनमा महानगरपालिका, सडक डिभिजन र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच समन्वय गरी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना कार्यान्वयन थालिएको जनाइएको छ।

