साढे नौ वर्षमा पनि पूरा भएन कञ्चनपुरको हुलाकी सडक
कञ्चनपुर,साउन १८ । कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक निर्माण सुरु भएको साढे नौ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। पटक–पटक ठेक्काको म्याद थपिए पनि बेलौरी–बेल्डाडी खण्डको निर्माण अझै अलपत्र छ।
२०७३ फागुनमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी तीन चरणमा ठेक्का सम्झौता भएको थियो। पहिलो २० किलोमिटर डोकेबजार–बेलौरी खण्ड निर्माण पूरा भई हस्तान्तरणको प्रक्रियामा छ भने अन्तिम २४ किलोमिटर बेल्डाडी–दैजी खण्ड पनि निर्माण सम्पन्न भई त्रुटि दायित्व अवधिमा छ।
तर बीचको बेलौरी–बेल्डाडी खण्डको ११ किलोमिटर सडक निर्माणमा ठेकेदारको लापरबाही भएपछि ठेक्का तोडिएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताउनुभयो। उहाँका अनुसार नयाँ ठेक्काका लागि लागत अनुमान तयार भइरहेको र डेढ महिनाभित्र ठेक्का आह्वान गरिनेछ।
यसअघि उक्त खण्ड ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो भने निर्माण कम्पनीले २८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ। निर्माण भएको केही भागसमेत भत्किसकेको कार्यालयले जनाएको छ।
सीमा विवादका कारण पचुई क्षेत्रमा करिब एक हजार चार सय मिटर सडक कालोपत्रे गर्न नसकिएको बताइएको छ। सो क्षेत्र छाडेर बाँकी सडक निर्माण अघि बढाउने तयारी छ।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले सडक नबन्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएको बताउनुभयो। उहाँले नयाँ ठेक्का प्रक्रिया छिटो अघि बढाई सडक समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ।

