मूल्यवृद्धि नियन्त्रणदेखि सीमा सुरक्षासम्म सरकारको ध्यानाकर्षण



काठमाडौं,साउन १८ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, खाना पकाउने ग्यासको अभाव तथा सीमा क्षेत्रमा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले तरकारी, फलफूल, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दा सर्वसाधारण उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभयो । खाना पकाउने ग्यासको अभावसमेत देखिन थालेकाले सहज आपूर्ति सुनिश्चित गर्न उहाँहरुले आग्रह गर्नुभयो ।

सांसदहरुले ‘कोठा खाली छ’ भन्ने नारासहित दिपा नेपालीलगायत दलित समुदायका व्यक्तिहरु माइतीघरमा १०७ दिनदेखि सत्याग्रहमा बसेको विषय पनि उठाउनुभयो । सत्याग्रहीसँग तत्काल वार्ता गरी उनीहरुका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँहरुको भनाइ थियो ।

यस्तै, पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय पक्षले अस्थायी बाँध भत्काएपछि उत्पन्न विवादप्रति पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले सीमा क्षेत्रमा उत्पन्न समस्या जिम्मेवार र कूटनीतिक ढङ्गबाट समाधान गर्न तथा सीमामा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्