२५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन, सडकदेखि हवाई यातायातसम्म एकीकृत प्रणालीमा जोड
काठमाडौं,साउन १८। सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले पुरानो नीतिलाई परिमार्जन गर्दै ‘राष्ट्रिय यातायात नीति, २०८३’ जारी गरेको हो।
नयाँ नीतिले एकीकृत यातायात प्रणालीको विकासमार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। मन्त्रालयका अनुसार सडक, रेल, जलमार्ग र हवाई यातायातबीच समन्वय कायम गरी आधुनिक र प्रभावकारी यातायात प्रणाली विकासलाई नीतिले प्राथमिकता दिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षामा अभिवृद्धि, वातावरणमैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नयाँ नीतिले विशेष जोड दिएको बताउनुभयो।
बदलिँदो प्रविधि, तीव्र सहरीकरण, जलवायु परिवर्तन तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै लामो समयपछि यातायात नीति परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ। नयाँ नीतिले यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउँदै नागरिकको सहज आवागमन सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ।

