नुवाकोटमा २४सै घण्टा ‘विपद् कल सेन्टर’ सञ्चालन
नुवाकोट,साउन १९ । नुवाकोटमा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि २४सै घण्टा सञ्चालन हुने ‘विपद् कल सेन्टर’ सुरु गरिएको छ । वर्षायामसँगै बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्को जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालय नुवाकोटले कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गत जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट सञ्चालन गरिएको कल सेन्टरमार्फत विपद्सम्बन्धी सूचना, उद्धार, राहत तथा समन्वयका लागि आमनागरिकले जुनसुकै समयमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
विपद्का समयमा तत्काल सहयोग आवश्यक परे हटलाइन नम्बर ११४९ तथा ०१०–५६१९३३ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । इमेलमार्फत समेत विपद्सम्बन्धी सूचना तथा जानकारी उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, सुरक्षा निकायका आपत्कालीन सेवाका लागि नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढी, पहिरो, डुबानलगायत विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अफवाहमा विश्वास नगर्न र कुनै पनि आपत्कालीन घटना भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।

