नुवाकोट म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ, भुक्तानीपछि पनि कमिसन मागेको आरोप
नुवाकोट,साउन १९ । नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुस तथा रिसवत लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गर्ने तथा दुःख–हैरानी दिने गरेको सूचनाका आधारमा तामाङमाथि निगरानी तथा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। तामाङको साथबाट घुसबापतको एक लाख रुपैयाँसहित स्रोत नखुलेको थप पाँच हजार रुपैयाँसमेत बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

