सुनसरीसहित चार जिल्लाका हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न कांग्रेसको माग



काठमाडौं, साउन १९ । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।

सोमबार बसेको संसदीय दलको बैठकले ती घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा ज्यान गुमाएका तथा घाइते भएकाप्रति दुःख व्यक्त गरेको हो।

बैठकपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको जानकारी दिनुभयो। उहाँले भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभयो।

कांग्रेसले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आपसी भाइचारा, बन्धुत्व तथा सामाजिक सद्भाव कायम रहँदै आएको अवस्थामा सामाजिक विद्वेष फैलाउने घटना हुनु दुःखद भएको जनाएको छ।

बैठकले घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमता कायम राख्न सबै पक्षलाई अपिल गरेको छ। यसैगरी, नागरिक, सांसद र संसद्बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘कांग्रेस संसदीय दल सांसद समन्वयसम्बन्धी कार्यादेश’ बैठकले पारित गरेको प्रमुख सचेतक थापाले बताउनुभयो।

बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ समेत पारित गरेको छ।कांग्रेस संसदीय दलको बैठकले कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेलसहित दिवङ्गत व्यक्तित्वप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया दिनुहोस्