राहदानीसम्बन्धी कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
काठमाडौं, साउन १९। राहदानी ऐनअन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा पेस गरिएको यात्रा अनुमति पत्रमाथि शंका उत्पन्न भएपछि राजदूतावासले उक्त कागजात अनुसन्धानका लागि ब्यूरोलाई पठाएको थियो।
अनुसन्धानका क्रममा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृतका रूपमा कार्यरत भट्टराईको यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा संलग्नता देखिएको ब्यूरोले जनाएको छ। हाल भट्टराई परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत हुनुहुन्छ।
ब्यूरोले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत सोमबार काठमाडौं जिल्ला अदालतमा भट्टराईविरुद्ध अभियोगपत्र दायर गरेको थियो। अदालतमा प्रतिवादी कायम भएका भट्टराईलाई सोमबार काठमाडौं महानगरपालिका–३१, त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि आवश्यक कानुनी कारबाहीका लागि उहाँलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

