मनसुनी प्रभाव कायमै, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन १९ । देशभर मनसुनी वायुको प्रभाव मंगलबार पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेकाले देशभर बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्न विभागले अनुरोध गरेको छ।

