यस वर्ष ९२ प्रतिशत धान रोपाइँ सम्पन्न, बागमतीमा ९६ प्रतिशत
काठमाडौं,साउन १९ । यस वर्ष गत वर्षको तुलनामा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार हालसम्म ९२ प्रतिशत अर्थात् १२ लाख ६८ हजार २७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
गत वर्ष यस अवधिमा ८३.९३ प्रतिशत मात्रै रोपाइँ भएको थियो। समयमा वर्षा भएकाले यस वर्ष रोपाइँ बढेको विभागका सूचना अधिकारी तिलकराज चौलागाईंले जानकारी दिनुभयो।
प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ९९.७९ प्रतिशत र सबैभन्दा कम कोशी प्रदेशमा ८६.९७ प्रतिशत धान रोपाइँ भएको छ। यस्तै, मधेशमा ९०.७२, बागमतीमा ९६.१२, गण्डकीमा ९२.१३, लुम्बिनीमा ९४.८३ र कर्णालीमा ९४.८ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
देशभर करिब १३ लाख ७० हजार हेक्टरमा धान खेती हुने गरेकोमा यस वर्ष एक लाख एक हजार ७९२ हेक्टर क्षेत्रफल बाँझै रहेको छ।

