विद्यालय तहमा थपिँदै आठ नयाँ पाठ्यक्रम, अब तन्त्रशास्त्र पनि समेटिने



काठमाडौं, साउन १९ । विद्यालय तहमा आठ वटा नयाँ पाठ्यक्रम थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरिएको छ।

कक्षा ६–८ का लागि अवधि र मगर ढुट, कक्षा ९–१० का लागि जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र तथा कक्षा ११–१२ का लागि विभिन्न कानुनसम्बन्धी पाँच विषयका पाठ्यक्रम सिफारिस गरिएको केन्द्रले जनाएको छ।

मन्त्रालयबाट अन्तिम स्वीकृति पाएपछि नयाँ पाठ्यक्रम कार्यान्वयनमा लगिनेछ। नयाँ पाठ्यक्रमसमेत जोड्दा कक्षा १ देखि १२ सम्मका लागि तयार गरिएका पाठ्यक्रमको सङ्ख्या तीन सयभन्दा बढी पुगेको छ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार विद्यार्थीको माग, विज्ञ तथा सरोकारवालाको सुझावका आधारमा नयाँ पाठ्यक्रम निर्माण गरिँदै आएको छ। तर विद्यार्थी वा आवश्यक जनशक्ति अभावका कारण निर्माण भएका सबै पाठ्यक्रम विद्यालयमा कार्यान्वयन हुन नसकेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्