भैंसी किनेर फर्कने क्रममा खोलामा बगेर एक जना बेपत्ता
म्याग्दी, साउन १९ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, मुलपानीमा खोला तर्ने क्रममा बगेर एक जना बेपत्ता हुनुभएको छ। रघुगङ्गा गाउँपालिका–८, चौरखानीबाट भैँसी किनेर फर्किने क्रममा एकतारे खोला तर्दै गर्दा ३५ वर्षीय भीमबहादुर घर्तीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
घर्तीसँगै रहेका मुलपानीका देवेन्द्र मैलियाले घटनाबारे गाउँले, आफन्त र प्रहरीलाई जानकारी गराउनुभएको थियो। सूचना पाएलगत्तै चिमखोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरी र स्थानीयवासीले खोजी गरे पनि घर्तीको अवस्था पत्ता लाग्न सकेको छैन। मंगलबार बिहानदेखि २०–२५ जनाको टोली परिचालन गरी पुनः खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण खोला बढेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो।

