जंगली च्याउ खाँदा बाजुरामा एक जनाको मृत्यु, एक जना गम्भीर



बाजुरा,साउन १९ । बाजुरामा जंगली विषालु च्याउ सेवन गर्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी पर्नुभएको छ।

बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उहाँकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापाको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार सोमबार साँझ दुवैले जंगलबाट ल्याएको जंगली च्याउ खाएपछि अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।बिरामी परेपछि उनीहरूलाई राति नै उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। उपचारकै क्रममा रामे थापालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

गम्भीर बिरामी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार नआएकाले अवस्था चिन्ताजनक रहेको छ। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिनुभयो।

वर्षायाममा जंगलमा उम्रने अपरिचित तथा विषालु च्याउ सेवन नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। पहिचान नभएका च्याउ सेवन गर्दा ज्यानै जाने जोखिम हुने भएकाले सचेत रहन प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्