शारीरिक रूपमा अशक्त कृतिज्ञलाई विदुर नगरपालिकाद्वारा ह्वीलचियर प्रदान



नुवाकोट,साउन १९ । विदुर नगरपालिका–४ निवासी कृतिज्ञ श्रेष्ठलाई हिँडडुल तथा दैनिक आवतजावतमा सहज होस् भन्ने उद्देश्यले विदुर नगरपालिकाले आधुनिक ह्वीलचियर उपलब्ध गराएको छ।

नगरप्रमुख राजन श्रेष्ठले श्रेष्ठको परिवारलाई एक थान आधुनिक ह्वीलचियर हस्तान्तरण गर्नुभएको हो। शारीरिक रूपमा पूर्ण अशक्त श्रेष्ठलाई ह्वीलचियर उपलब्ध भएपछि घरबाहिर आवतजावत गर्न तथा शौचालयसम्म पुग्न सहज हुने विश्वास गरिएको छ।

स्वास्थ्यमा गम्भीर समस्या भई हिँडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा पूर्ण अशक्त नगरवासीलाई आवश्यकताअनुसार नगरपालिकाले स्वास्थ्य सहायता सामग्री उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख श्रेष्ठले त्यस्ता सामग्री आवश्यक पर्ने नगरवासीलाई नगरपालिकाको सहयोगको लाभ लिन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्