सुनकोशीमा बेपत्ता तीन यात्रु र कारको खोजी आज पनि जारी
सिन्धुली,साउन १९। मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीन यात्रु र कारको खोजी आज पनि जारी रहेको छ।
सोमबार बिहान काठमाडौँबाट ओखलढुङ्गाको सिस्नेरीतर्फ जाँदै गरेको यात्रुवाहक बसले सडकमा रोकिराखेको कारलाई ठक्कर दिँदा कार करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको थियो।दुर्घटनापछि कारमा सवार तीन जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ का स्काभेटर सहचालक सुजन मगर रहेका प्रहरीले जनाएको छ।सशस्त्र प्रहरीको खुर्कोटबाट गोताखोरसहित खटिएको टोली, नेपाल प्रहरी तथा स्थानीयवासीले डुङ्गाको प्रयोग गरी खोजी गरिरहेका छन्। तर, हालसम्म उनीहरू र कार फेला पर्न सकेका छैनन्।
बर्खायामका कारण सुनकोशी नदी धमिलो हुनुका साथै पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभएको छ।
यसैबीच दुर्घटनापछि अवरुद्ध मध्यपहाडी लोकमार्गको घुर्मी–खुर्कोट खण्ड खुलाउने विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल भइरहेको छ। सडकमा रोकिराखेको कारलाई बस चालकको लापर्वाहीका कारण ठक्कर दिइएको आरोप लगाउँदै पीडित पक्षले चालकलाई कारबाही गर्न माग गरेको छ।

