हर्मुज जलघाँटीमा कार्गो जहाजमाथि प्रक्षेप्यास्त्र आक्रमण, अमेरिका–इरान दाबीमा विरोधाभास



कायरो,साउन १९ । अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रको आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ। घटनापछि विश्वकै प्रमुख ऊर्जा व्यापार मार्गमध्ये एक हर्मुज जलघाँटीको सुरक्षा र अमेरिका–इरान तनावबारे थप चिन्ता बढेको छ।

बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको एक कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको हो। घटनामा जहाजको नाम, झण्डा र त्यसले बोकेको सामानबारे भने विवरण सार्वजनिक गरिएको छैन।

पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटीबाट ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले यो जलमार्ग विश्वकै रणनीतिक रूपमा संवेदनशील क्षेत्र मानिन्छ।पछिल्लो समय अमेरिका–इरान तनावका कारण यस क्षेत्रमा जहाज आवतजावत र अन्तर्राष्ट्रिय समुद्री व्यापारसमेत प्रभावित हुँदै आएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु भएको दाबी गर्नुभएको छ। कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि अमेरिका कूटनीतिक प्रयासलाई निरन्तरता दिन तयार भएको उहाँको भनाइ छ। इरानले सार्वजनिक रूपमा अस्वीकार गरे पनि दुवै पक्षबीच संवाद जारी रहेको ट्रम्पले दाबी गर्नुभएको छ।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग कुनै वार्ता नभएको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार इरानको संवाद ओमानसँग मात्र भइरहेको छ र त्यसको मुख्य विषय हर्मुज जलघाँटीमा सुरक्षित जलयात्राको व्यवस्था रहेको छ।

ट्रम्पले भने इरानले नै वार्ताको पहल गरेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत तेहरानको सार्वजनिक अभिव्यक्ति विरोधाभासपूर्ण रहेको टिप्पणी गर्नुभएको छ। इरानले एकातिर वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ कुनै छलफल नभएको दाबी गर्ने गरेको उहाँको आरोप छ।

प्रतिक्रिया दिनुहोस्