एलपी ग्यास आपूर्ति सहज बनाउन मन्त्रालय पूर्ण प्रतिबद्ध : मन्त्री कुमारी
काठमाडौँ,साउन १९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री कुमारीले उपभोक्ताको हितलाई केन्द्रमा राखेर ग्यास अभावमा परेका नागरिकलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो।
बैठकमा सांसदहरूले ग्यास अभावको समस्या पटक–पटक दोहोरिनुमा संस्थागत तथा प्रणालीगत कमजोरी रहेको औँल्याउनुभयो। उहाँहरूले ग्यासको वितरण, माग र आपूर्तिबीच देखिएको असन्तुलनको वास्तविक कारण पहिचान गर्न सिलिन्डर ट्र्याकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो।
आवश्यकताभन्दा बढी एलपी ग्यास आयात भइरहे पनि बजारमा अभाव देखिनु व्यवस्थापनको कमजोरी भएको सांसदहरूको भनाइ थियो। उपभोक्तालाई ग्यासको मूल्यवृद्धिको मारमा पर्न नदिन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उहाँहरूले बताउनुभयो।सांसदहरूले तत्काल ग्यास वितरण प्रणालीलाई प्रभावकारी बनाउन तथा पेट्रोलियम पदार्थको नियमनका लागि नीतिगत सुधार आवश्यक रहेको पनि औँल्याउनुभयो।
बैठकमा सरोकारवालाहरूले एलपी ग्यास अभावको दीर्घकालीन समाधानका लागि ग्यास पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न आवश्यक रहेको जानकारी गराएका थिए।

