७२ जिल्लामा डेंगु फैलियो, दुई हजारभन्दा बढी संक्रमित



काठमाडौँ, साउन १९ । बर्खाको मध्यभागमा आइपुग्दा देशभर डेंगु संक्रमण बढेको पाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म देशका ७२ जिल्लामा दुई हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

महाशाखाका अनुसार डेंगु संक्रमणका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ। पछिल्लो एक महिनामा संक्रमितको संख्या उल्लेख्य रूपमा बढेको जनाइएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी संक्रमित कोशी र गण्डकी प्रदेशमा भेटिएका छन्। कोशीमा ५६८ र गण्डकीमा ५३२ जना संक्रमित भएका छन्। त्यस्तै बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेशमा ७२ र कर्णालीमा ४२ जना संक्रमित भेटिएका छन्।

जिल्लागत रूपमा झापा सबैभन्दा बढी प्रभावित भएको छ।झापामा २०४ जना संक्रमित भेटिँदा बागलुङमा १८०, सुनसरीमा १६१, पाल्पामा ११६, कास्कीमा ११०, काठमाडौँमा ९७, रुपन्देहीमा ६७, ओखलढुङ्गा र गोरखामा ६४–६४ तथा तनहुँमा ६२ जना संक्रमित छन्।

किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार गत वर्षको तुलनामा यस वर्ष डेंगु संक्रमण करिब ५० प्रतिशतले कमी भए पनि जोखिम भने कायमै छ। डेंगु संक्रमण फैलिने मुख्य समय यही अवधिदेखि भदौसम्म भएकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ।

सरकारले असार अन्तिमदेखि कात्तिकसम्मलाई डेंगुको जोखिमयुक्त समय मानेर निगरानी तथा सचेतना अभियान सञ्चालन गर्दै आएको छ। महाशाखाले डेंगुका बिरामी बढी भेटिएका जिल्ला तथा स्थानीय तहमा अवस्थाको नियमित विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र निर्देशन पठाइरहेको जनाएको छ।

तीनमहिने अभियानअन्तर्गत डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेको बासस्थान तथा प्रजननस्थल खोजी गरी नष्ट गर्ने र समुदायस्तरमा जनचेतना फैलाउने कामलाई तीव्रता दिइनेछ।

स्वास्थ्य विज्ञहरूले डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान र प्रजननस्थलको निरन्तर निगरानी तथा व्यवस्थापनलाई सबैभन्दा प्रभावकारी उपाय मानेका छन्। घरवरपर पानी जम्न नदिने, पानीका भाँडा सफा राख्ने र लामखुट्टेको वृद्धि हुने स्थान तत्काल नष्ट गर्न उनीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्