मोटरसाइकल दुर्घटनापछि घाइते सहयात्रीको हत्या, चालक पक्राउ
बर्दिया,साउन १९ । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्।
साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए।
मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु भने दुर्घटनापछि सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा दुर्घटनापछि घाइते अवस्थामा रहेका थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको खुलेको छ। त्यसपछि मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरी शव सिँचाइ नालामा फालेर जैसी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
घटनामा संलग्न जैसीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

