मुलुक केन्द्रित रणनीतिक कार्ययोजना बनाउँदै परराष्ट्र मन्त्रालय
काठमाडौँ, साउन १९ — परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले विभिन्न मुलुकसँगको सम्बन्धबाट अधिकतम लाभ लिन सक्ने गरी मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणको काम अघि बढिरहेको बताउनुभएको छ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा मन्त्री खनालले मन्त्रालयका विभिन्न महाशाखाले सम्बन्धित मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले रणनीतिक योजना निर्माण गरिरहेको जानकारी दिनुभयो।
उहाँले प्रत्येक मुलुकसँग निश्चित प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसैलाई केन्द्रमा राखेर रणनीति बनाइने बताउनुभयो। “द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ। उक्त रणनीतिमार्फत नेपालले सम्बन्धित मुलुकबाट कसरी अधिकतम लाभ लिन सक्छ भन्ने हिसाबले काम गर्नेछौँ,” उहाँले भन्नुभयो।
मन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको यकिन सङ्ख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा समस्या भइरहेको पनि बताउनुभयो। विदेशमा रहेका नेपालीको वास्तविक सङ्ख्या पहिचान गर्न अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालय तथा विभिन्न मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो।

