सुनसरी घटनामा मृत्यु भएका मेहताका परिवारसँग गृहमन्त्री गुरुङको वार्ता
काठमाडौँ,साउन १९— गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका सुनसरीका रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता भइरहेको हो।सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा आज मृत्यु भएको थियो।
मेहताको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गरेका थिए। त्यसपछि सुनसरीलगायत तराई–मधेशमा देखिएको समस्या समाधानका लागि सहजीकरण गरेर फर्किएका गृहमन्त्री गुरुङले पीडित परिवारसँग प्रत्यक्ष वार्ता गर्नुभएको हो।
यसअघि गृहमन्त्री गुरुङले आजै हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। गृह मन्त्रालयमा भएको छलफलमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता थियो।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भाव कायम गर्ने विषयमा छलफल भएको थियो।

