केही दिनभित्रै एलपी ग्यासको आपूर्ति सहज हुने
काठमाडौं,साउन २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह तथा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी एलपी ग्यास आयात तथा वितरण भइरहेको उल्लेख छ।
मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण तथा वितरणलाई पारदर्शी र अनुमानयोग्य बनाउने सुधारका कामसमेत सुरु गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत कार्य गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

